दक्षिणतिर सुसाउदै बगी रहेको भेरी नदि र रुकुम चौरजाहरिको सुन्दर दृश्य संगै उत्तरतिरका कुशे पाटनका मनै लोभ्याउने दृश्य, अनि पूर्वतिर सेताम्य सिस्ने हिमाल, तल होलु जिउलाका हरिया खेतहरु,वरिपरिका हरिया पहाडहरु को मध्य खलंगा पीपल डाँडामाको टाकुरामा सेतो सुन्दर अनि भब्य छ जाजरकोट दरबार।
जाजरकोट राज्यको संक्षेपमा इतिहास
नेपालमा बाइसे – चौबिसे राज्यकालमा जाजरकोट, बाइसे राज्यको अत्यन्तै शक्तिशाली राज्य थियो। जाजरकोट राज्यका संस्थापक राजा जगतिसिंह मेदिनी वर्मा हुनुहुन्थ्यो। राजा जगतिसिंहले १४५५ सालमा जाजरकोट राज्यको स्थापना गर्नुभएको थियो।
जाजरकोट राज्यको राजधानी शुरुमा जगतिपुर थियो। जाजरकोटी राजा जगतिसिंह देखि पछि विजय सिंहको शासनकालमा वहांको घोडा खलंगाको पीपलडाँडामा संधै चर्नको लागि आउने गर्थ्यो।
घोडाले सो स्थान मन पराएको र सुरक्षाको दृष्टिले पनि योग्य स्थान देखेर विजय सिंहको नातिले सोहि स्थानमा जाजरकोट दरबार निर्माण गर्नु भयो र १६औं शाताब्दीमा जगतिपुरबाट खलंगामा राजधानी सारिएको थियो।
जाजरकोट दरबारको इतिहास
२५५ बर्ष पुरानो रातो दरबार निर्माता राजा हरि शाह र २२८ बर्ष पुरानो सेतो दरबार निर्माण गर्ने राजा इन्द्रनारायण शाह हुन्। इन्द्रनारायण भन्दा अघिका राजा हरिशाह देखि गजेन्द्र नारायण शाह सम्मले रातो दरबारबाट शासन चलाएका थिए। त्यसपछि इन्द्रनारायण र उनि पछिका सात जना राजाले जाजरकोट दरबारबाट शासन गरेका थिए। यो दरबारबाट शासन चलाउने अन्तिम राजा प्रकाशविक्रम शाह हुन्।
नेपाल सरकारले २०१७ सालमा राजारजौटाहरु उन्मुलन गरेपछि यस दरबारमा जाजरकोटी राजाले बस्न छोडे। त्यसपछि तत्कालीन जाजरकोटी राजा प्रकाश विक्रम शाहले उक्त दरबारलाई २०४२ सालमा तत्कालीन जिल्ला पन्चायतलाई रु. ६० हजार रुपैयाँमा बिक्री गरेका थिए। त्यसपछि यो सरकारी सम्पत्तिका रूपमा परिणत भएको
राजा रजौटा उन्मुलन र जाजरकोट दरबार बिक्री गरिसकेपछि पनि गणतन्त्र स्थापना नहुने बेलासम्म जाजरकोटका राजाले तथा उनका संतानले राजाको मान्यता पाइरहे।
जाजरकोट राज्य संचालन हुने रातो दरबार र सेतो दरबारमार्फत २०१७ सालदेखि नै सरकारी कामकाज हुदै आएको थियो।
यो दरबारमा अहिले सरकारी निकायको जिल्ला प्रशासन कार्यालयका छ । यसअघि यहाँबाट जिल्ला विकास समिति र कृषि विकास बैंकका कामकाज संचालन हुने गर्दथे। सेतो दरबारलाई नेपाल सरकारले ऐतिहासिक तथा पुरात्तात्विक महत्वका आधारमा नेपालभरका १ सय पर्यटकीय गन्तव्यमा समावेश गरेको छ।
जाजरकोट दरबारहरु कहिले निर्माण गरिएका थिए?
१. रातो दरबार
जाजरकोटको रातो दरबार निर्माण पृथ्वी नारायण शाह क मित, जाजरकोटका छैटौं राजा हरि शाहले १८२५ सालमा गरेका थिए। त्येस्बेला यो दरबार साततले निर्माण गरिएको थियो।
२. सेतो दरबार
रातो दरबार बनेको २७ वर्षपछि राजा इन्द्रनारायणले राज्य सञ्चालनका लागि थप भौतिक संरचनाको आवश्यकता ठानेर अर्को दरबार खलंगाको सबैभन्दा अग्लोभाग छनौट गरेर रातो दरबार भएकै ठाउँमा १८५२ सालमा सेतो दरबार निर्मार्ण गरेका थिए।
जाजरकोट दरबार कसरि निर्माण गरिएको थियो?
जाजरकोट दरबार निर्माण गर्नको लागि जाजरकोट, रुकुम र सल्यान जिल्लाका मानिसहरुले रुकुम जिल्लाको चौरजहारी बाट इँटा बोकेर यहाँ ल्याएका थिए। यो दरबार निर्माणक लागि भक्तपुर बाट कालिगढ़ बोलाइएको थियो। भक्तपुरक चर्चित कालिगढ़ नाक्चेले आफ्नै ढाँचामा निर्माण गरेका थिए।
दरबारका सबै महत्वपूर्ण एवम् ऐतिहासिक वस्तुहरु अहिले कहाँ छन्?
नेपाल एकीकरण गर्ने बेलामा जाजरकोट राज्यले पुर्याएको योगदानलाई सम्झाउने महत्वपूर्ण सबै एतिहासिक वस्तुहरु राजाका भाइ भारदारहरु र अन्यले वेपत्ता बनाएको अर्थात् हराएको कारणले गर्दा जाजरकोट दरबारको शोभा मेटिएको छ। जाजरकोट दरबारको सातौ तलामा रहेको नारायणथान मन्दिरमा अति प्राचिन तीनवटा मुर्ति थिए। एउटा हनुमान को मुर्ति द्वन्दकालमा हराएको थियो र अन्य दुइ मुर्ति लाई पीपलडाँडाको गणेश मन्दिरमा तथा अर्को रानागाउँको कालिका मन्दिरमा राखिएको छ।
जाजरकोटी सेनाले हुम्ला जिल्ला र चीनको बिचमा रहेको ताक्लाकोट आक्रमण गरि जीतेको छालाको तोप र केहि अन्य हथियार राष्ट्रिय संग्रहालय छाउनीमा राखिएको छ।पृथ्वी नारायण शाहले शक्तिको प्रतीकका रुपमा दिएको तरबार अहिले जगतिपुरको मन्दिरमा खर्के देउताको रुपमा सुरक्षित रहेको छ।
रातो दरबार बाट गरिएका महत्वपूर्ण ऐतिहासिक कामहरू
- जगतिपुरबाट खलंगा राजधानी सारेपछि सामान्य राजकाज रातो दरबारबाट चलाइन्थ्यो।
- जाजरकोटका राजा हरि शाह एवं उनका छोरा गजेन्द्र शाह र गोरखाका राजा पृथ्वीनारायण शाहको बीच १८२५ साल माघ ७ गते गरेका सन्धिहरुको साथै त्यस पछि गरेका सन्धिहरु को संचालन यहि रातो दरबार देखि भएको थियो।
सेतो दरबारबाट गरिएका महत्वपूर्ण ऐतिहासिक कामहरू
- प्रथम विश्वयुद्धमा १५० जना जाजरकोटी सहभागिता।
- नयाँ नेपाल बन्दाको बखतमा बाँके, बर्दिया, कैलाली, कन्ञ्चनपुरलाई नयाँ नेपालको रुपमा विशाल नेपालभित्र गाभ्ने कार्यमा ८०० जाजरकोटी सेनाले गरेको योगदान।
- पृथ्वी नारायण शाहले नेपाल एकीकरण गर्ने समयमा नेपाल एकीकरणमा जाजरकोटी सेनाको योगदान।
- तिब्बतमा बहादुर शाह बन्धक परेको बेला उनको उद्धार गर्न जाजरकोटी सेना परिचालन भएको।
- पहिलो राणा प्रधानमन्त्री जंगबहादुर राणाकी दुइ छोरीहरु जगतकुमारी र दिर्घकुमारीको एकै लगनमा जाजरकोटी राजासंग गरेको विवाह।
- तत्कालिन श्री ५ रणबहादुर शाह की छोरी दुर्गाकुमारी शाहसंग जाजरकोटी राजा दीपनारायण शाहले गरेको विवाह।
जाजरकोट राज्यका समयमा शासन पद्धति कस्तो थियो?
जाजरकोट राज्यका समयमा एक जना मन्त्रि हुन्थे। ति मन्त्रि राज्यमन्त्रीका रुपमा काम गर्दथे। राज्यमन्त्रीका रुपमा काम गर्नेलाई काजि भनिन्थ्यो। राज्यमा काम गर्नका लागि तोकिएका मन्त्रि अर्थात काजी तथा उनका परिवार जाजरकोट दरबारकै छेउमा बनेका मौलिक पुराना संरचनाहरुमा बस्थे। त्यति बेलाका कजिहरुको विशेष सुविधाको व्यवस्था तथा पूर्ति जनता बताई उठाइएको कर बाट गरिन्थ्यो।.
विभिन्न समयमा जाजरकोट दरबारलाई भूकम्पले पुर्याएको क्षति र पुनः निर्माण
१ – १९९० सालको भूकम्प
- आज भन्दा ९० साल अघि १९९० साल माघ २ गते नेपाल र भारत केन्द्रबिन्दु भएर गएको ८ म्यग्निच्युडको महाविनाशकारी भूकम्पले यस दरबारलाइ पूर्ण रुपमा भत्काएको थियो।
- ९० बर्ष अघिको उक्त भुइचालोलाई दरबारलाई क्षति पुर्याउने महा विपद्क रुपमा जाजरकोट वासीले लिने गरेका छन्।
- साततले दरबारलाई ४ तलामा पुनःनिर्माण गरियो।
- यो दरबार पुनः निर्माणका लागि भक्तपुरबाट नेवार समुदायका इन्जीनियर बोलाइएको थियो।
२ – २०४५ सालको भूकम्प
- २०४५ साल भदौ ५ गते विहान ५ बजे नेपालको उदय्पर केन्द्रबिन्दुभइ गएको ६.६ रेक्टर स्केलको भूकम्पले ४० सेकेन्डमै पुरै नेपाल हल्लाएको थियो।
- यस भूकम्पले जाजरकोट दरबारको पश्चिमी भागमा क्षति पुगी भत्किएको थियो।
- यसलाई २०५१ सालमा पुनः निर्माण गरिएको थियो।
३- २०७२ सालको भूकम्प
- २०७२ साल बैसाख १२ गते दिउसो ११ बजेर ५६ मिनेटमा गोरखा जिल्लाको बारपाक आसपास केन्द्रबिन्दु बनाएर ७.६ रेक्टर स्केलको भूकम्पले गएको थियो।
- उक्त भूकम्पले गोरखा, सिन्धुपाल्चोक, काठमाडौं, काभ्रे, दोलखा, धादिङ, मकवानपुरलगायत १४ जिल्लामा जनधन को धेरै क्षति गरेको थियो।
- २०७२ सालको भूकम्पले जाजरकोट दरबारलाई कुनै क्षति पुर्याएन।
४ – २०८० सालको भूकम्प
- २०८० साल कार्तिक १७ गते मध्यराति ११ बजेर ४७ मिनेटमा जाजरकोट रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको गएको थियो।
- यस भूकम्पले जाजरकोट, रुकुम र सल्यान जिल्लामा अधिक क्षतिका साथै कर्णालीका अधिकांश जिल्लालाई पनि क्षति पुर्याएको छ।
- यस भूकम्पले जाजरकोट दरबारलाई ठुलो क्षति पुगेको छ।
- यस पटकको भूकम्पले जाजरकोट दरबारकै समयमा बनेका आसपासका संरचना तहस नहस बनेका छन्।
यो दरबारको अवस्था कस्तो छः?
- दरबारमा प्रवेशद्वारको अगाडी रहेको दुइवटा सिंहले अगाडिका खुट्टा उचालेर आक्रोश व्यक्त गरेको तस्विर झल्किने कलात्मक गेट २०३५ सालमा भत्किएको थियो।
- जाजरकोट दरबारमा प्रयोग भएका झ्यालको कला र स्वरूप हेर्दा शुरुकै स्वरुपमा निर्माण भएको देखिन्छन सरकारले देखरेखको राम्रो व्यवस्था गर्न न सक्दा अहिले यसका धेरै मौलिक स्वरुपहरुको अस्तित्व मेटिएको छ।
- यो दरबार जिर्ण अवस्थामा छ। दरबार पुनःनिर्माणका लागि जिल्लाले पटक पटक पत्र पठाउँदा पनि अर्थमन्त्रालयले बजेट निकासा गर्दैन। यो दरबार पुनः निर्माण गर्न झन्डै १३ करोड रुपियाँ लाग्छ ।
- दरबारको वरपरी भव्य महलको बीचमा रानिहरुले नुहाउने तलाउको अहिले कुनै पनि नामो निसान छैन।
- यो दरबार पुरातत्व विभागमा दर्ता भएको भए पनि यसको रेखदेख र संरक्षणमा कसैको चासो छैन।
जाजरकोट दरबारलाई संरक्षण कसरि गर्ने ?
- जाजरकोट दरबारको मौलिकता पुरातात्विक महत्व एवं इतिहास संरक्षित गर्नको लागि पुरानै स्वरुपमा भुकम्प्प्रतिरोधि निर्माण गर्न जरुरि छ।
- दरबारको मौलिक स्वरूप जोगाउँदै समग्र कर्णालीको लागि मुख्य पर्यटकीय गन्तव्य बनाउन सबैले चिन्ता गर्नु पर्छ।
- अहिले संचालनमा रहेको जिल्ला प्रसासन कार्यालयलाई आफ्नो छुट्टै भवन बनाई सार्न जरुरि छ। किनकी सरकारी कार्यालय रहंदा यसको इतिहास र महत्व मेटिदै जान्छ।
निष्कर्ष – जाजरकोट दरबारहरु एतिहासिक र पुरातात्विक हिसाबले निकै महत्वपूर्ण छन। जाजरकोट जिल्लाको २५४ र १५३ बर्ष पुरानो इतिहासलाई जोगाउन यी दरबारलाई जोगाउनै पर्ने हुन्छ। यी दरबारहरु जाजरकोटको मात्र नभएर सिंगो कर्णालीको मुख्य पर्यटकीय गन्तव्य पनि हो तसर्थ यी दरबारको उचित संरक्षण गरे स्थानीय जनताको आय आर्जनमा समेत सहयोग पुग्ने छ।
FAQ
प्रश्न – दरबारको संरक्षण मा कसले दिएँ चासो?
उत्तर – स्थानीय सरोकारवाला निकाय र सरकाले बेवास्ता गरे।
Leave a Reply